| समूह विजेता बनेपछि प्रशंसकहरुसित खुसी मनाउँदै नेपाली टोली। फोटोः एन्फा |
इस्लामावाद : तेस्रो महिला साफ च्याम्पियनसिप प्रतियोगितामा नेपाल समूह विजेता बन्दै तेस्रो पटक सेमिफाइनलमा प्रवेश गरेको छ।
इस्लामाबादस्थित जिन्ना रङ्गशालामा आइतरबार भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–० गोलअन्तरले पराजित गर्दै समूह बीको विजेता बन्यो।
यसअघि सन् २०१० मा बङ्गलादेशमा भएको पहिलो साफ च्याम्पियनसिपमा नेपालले बङ्गलादेशलाई ३–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो। सन् २०१२ श्रीलङ्कामा भएको दोस्रो साफ च्याम्पियनसिपमा पनि नेपालले श्रीलङ्कालाई नै ३० गोलअन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो।
नेपालको जितमा निरु थापाले एक गोल गरिन भने अनु लामाले दुई गोल गरिन्। निरुले खेलको पहिलो हाफको १६ औँ मिनेटमा गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाइन्। अनु लामाले प्रहार गरेको रिबाउन्ड बललाई निरुले सदुपयोग गर्दै गोल गर्न सफल भइन्।
प्रतियोगिताको पहिलो हाफसम्म १-० ले अगाडि रहेको नेपालले दोस्रो हाफमा दुई गोल थप्यो। खेलको ५४ औँ मिनेटमा कप्तान लामाले पेनाल्टीमार्फत एक गोल गरिन्। श्रीलङ्काकी खेलाडीले फल गरेपछि नेपालले पेनाल्टी पाएको थियो।
त्यस्तै, खेलको ८५ औँ मिनेटमा यशोदा लामाको क्रसपासमा कप्तान लामाले पुनः एक गोल थपिन्। जारी प्रतियोगितामा उनले पाँच गोल गरेकी छिन् भने अन्तर्राष्ट्रिय गोल सङ्ख्या उनको ३३ पुगेको छ।
खेलपछि नेपालका मुख्य प्रशिक्षक कुमार कटवालले आजको खेलमा सोचेअनुरुपको नतिजा आएको बताउँदै सेमिफाइनल उत्कृष्ट खेल प्रदर्शन गर्ने बताए। रासस
No comments:
Post a Comment